गगन थापाको प्रस्ताव– कांग्रेस केन्द्रीय समितिमा ३० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व
EcoEcoPolitics२ हप्ता अगाडि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वर्षमुनिका युवाहरूलाई पार्टीको केन्द्रीय समितिमा अनिवार्य रूपमा सहभागी गराउने प्रस्ताव गरेका छन्।
कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा थापाले पार्टी विधान संशोधनसहितका विषय प्रस्तुत गर्दै युवाको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्।
थापाले आफ्नो प्रस्तावमा पार्टीको संरचनागत सुधार, सदस्यता प्रक्रिया सहज बनाउने, निर्णय प्रक्रियामा सदस्यको भूमिका सुदृढ गर्ने, र उम्मेदवार छनोटमा प्राइमरी प्रणाली लागू गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले भ्रातृ तथा शुभेच्छुक संस्थाको सञ्चालन, प्रदेश कार्यसमितिको अधिकार, पार्टी प्रवेश प्रक्रिया, ल्याटरल इन्ट्री, र समावेशीतालाई समेत विधान संशोधनको प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।
महामन्त्री थापाले यी विषयमा सघन छलफल गरी विधान संशोधन मस्यौदा समिति गठन गर्नुपर्ने प्रस्ताव पनि कात्तिक १८ गतेको बैठकमा पेस गरेका थिए। उनका अनुसार पार्टीको सबै तहमा नयाँ पुस्ता र ‘जेन जेड’ को सार्थक प्रतिनिधित्व सुनिश्चित गरिँदै निर्णय प्रक्रियामा उनीहरूको पहुँच बढाउनुपर्छ।
थापाको प्रस्ताव अनुसार पार्टीका सबै तहको नेतृत्व तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था हुनुपर्नेछ।
‘वडादेखि नै युवाको सहभागिता बढाउन, केन्द्रीय समितिमा निश्चित प्रतिशत नवयुवाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्छ,’ उनको भनाइ छ।
थापाले पार्टीका सबै तहमा विज्ञ, पेसागत व्यक्ति र विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई समेट्ने क्लस्टर प्रणाली लागू गर्न पनि सुझाव दिएका छन्।
उनीका अनुसार क्रियाशील सदस्यहरूले उम्मेदवार सिफारिस गर्दा कम्तिमा एक महिला, एक युवा र विभिन्न क्लस्टरका व्यक्तिहरूलाई प्राथमिकीकरण गर्नुपर्नेछ।
उम्मेदवार छनोटका निकायले यही प्राथमिकता र सूचीकृत व्यक्तिलाई आधार मानेर निर्णय गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्।
उनको भनाइमा, यी सुधारहरू कार्यान्वयन भएमा पार्टी चुस्त, समावेशी र प्रभावकारी बन्नेछ।








