नेपाल स्काउट कार्यालयमा तोडफोड र आक्रमणप्रति कडा निन्दा

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of नेपाल स्काउट कार्यालयमा तोडफोड र आक्रमणप्रति कडा निन्दा

काठमाडौँ । नेपाल स्काउटले शनिबार आफ्नै राष्ट्रिय प्रधान कार्यालयमा भएको तोडफोड, आक्रमण र अराजक गतिविधिप्रति गहिरो खेद प्रकट गर्दै कडा शब्दमा निन्दा गरेको छ।

 

संस्थाले जारी गरेको विज्ञप्तिमा सो घटनालाई “पवित्र संस्था र सम्पूर्ण स्काउट जगतमाथिको निर्मम हमला” भन्दै उक्त कार्यलाई आतङ्ककारी गतिविधि करार गरेको छ। स्काउटले भनेको छ, “यस्ता आतङ्ककारी कार्यहरूको हदैसम्म निन्दा गर्दछौँ। यो हमला सम्पूर्ण स्काउट परिवारमाथिको गम्भीर प्रहार हो।”

 

नेपाल स्काउटका अनुसार, संस्थाभित्रका आन्तरिक विषयहरू वार्ता, संवाद र छलफलमार्फत समाधान गर्न नेतृत्व सधैं तयार रहेको भए पनि “आफू बाहेक अरू सबैलाई गलत ठान्ने हठधर्मी सोच”का कारण यस्तो दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको हो।

 

विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक संस्थामा हुने गतिविधिप्रति सचेत रहनु र जबाफदेहिता माग्नु प्रत्येक सदस्यको अधिकार हो। तर कानुनी बाटो छोडी अराजक रूपमा आक्रमण गर्ने, स्काउटको नाममा अवैध व्यापार चलाउने, विद्यालय तथा अभिभावकमाथि लुट मच्चाउने तत्त्वहरू कदापि स्काउट हुन सक्दैनन्।”

 

नेपाल स्काउटले यसअघि मिति २०८२ असोज ८ गते गोरखापत्र दैनिक मा निर्देशक (कार्यालय प्रमुख) पदपूर्तिको सूचना प्रकाशित गरेको थियो। सो पदका लागि अन्तर्वार्ता चलिरहेको समयमा नै शनिबार कार्यालयमा आक्रमण भएको स्काउटले जनाएको छ।

 

घटनापछि स्काउटले सम्बन्धित निकाय र सरकारसँग दोषीहरूलाई शीघ्र पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com